७ पुष २०८१, आईतवार
22 December 2024, Sunday
Menu
Dalima Media > खेलकुद > प्रधानमन्त्री कप: पुलिसद्वारा मधेश ६ विकेटले पराजित
 

प्रधानमन्त्री कप: पुलिसद्वारा मधेश ६ विकेटले पराजित

प्रधानमन्त्री कप: पुलिसद्वारा मधेश ६ विकेटले पराजित

काठमाडौँ । जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामाविभागीय टोली नेपाल पुलिस क्लबले लगातार पाँचौँ जित हात पारेको छ । मधेश प्रदेशलाई ६ विकेटले हराउदै पुलिसले शिर्षस्थान कायमै गरेको हो । हालसम्म सात खेल खेलेको मधेशको भने यो तेस्रो हार हो ।

मधेशले दिएको ९८ रनको लक्ष्य पछ्याएको पुलिस १८.३ ओभरमा चार विकेट गुमाएर पुरा गर्यो ।

पुलिसका लागि सुनिल धमलाले २८ रन बनाए । कुशल भुर्तेलले १९ रन थप्दा अर्जुन साउद ७ र दिलीप नाथले ४ रन बनाए । अतिरिक्त रूपमा १० रन पाएको पुलिसका अमित श्रेष्ठ १५ र आरिफ शेख १६ रनमा अविजित रहे ।

मधेश प्रदेशको लागि रञ्जित कुमार र अरनिको यादवले दुई–दुई विकेट लिए ।

त्यसअघि काठमाडौँको मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले २४ ओभरमा अलआउट हुदै ९६ रन बनाएको थियो । मधेशका ओपनर ब्याट्सम्यान हरिशंकर शाहले २२ रन बनाए । अरनिको यादवले २३ र अभिषेक तिवारीले अविजित ११ रन बनाउदा अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पुलिस क्लबको लागि सागर ढकाल एक्लैले पाँच विकेट लिए । ललित राजवंशीले चार विकेट लिदा राशिद खानले एक विकेट लिए ।