काठमाडौँ । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानलाई जितको लागि १९८ रनको लक्ष्य दिएको छ ।
दक्षिण अफ्रिकाको बफेलो पार्क क्रीकेट मैदानमा पाकिस्तानविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर १९७ रन बनायो ।
नेपालको लागि ओपनर विपिन रावलले सर्वाधिक ३९ रन बनाए । उनले ६८ बलमा ४ चौका र एक छक्का हिर्काए । यस्तै, आकाश चन्द १६ रनमा नटआउट रहदा दिपक डुम्रे २६, कप्तान देब खनाल २३, सुवास भण्डारी २० गुलसन झा १८, दिपेश कडेल १३, अर्जुन कुमाल ६, आकाश त्रिपाठी ६ र उत्तम रंगु थापामगर ४ रन थपे । नेपालले एक्स्ट्रा २६ रन पाएको छ ।
पाकिस्तानको लागि अराफात मिनहसले तीन विकेट लिए । अहमद हुसैन, अली असफान्द, मोहम्मद जिसानले समान दुई दुई विकेट लिदा खुबाहिब खलिलले एक विकेट लिए ।
यसअघि समुहचरणको पहिलो खेलमा नेपाल न्यूजिल्यान्डसँग पराजित भएको थियो भने पाकिस्तानले अफगानिस्तानलाई हराएको थियो । प्रतियोगिताको समूह डी मा नेपालसँगै न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।
समूहको शीर्ष ३ स्थानमा रहने टोलीले सुपर सिक्स को यात्रा तय गर्नेछन् । त्यसपछि समूह ए का टोलीले समूह डी तथा समूह बी र समूह सी को टोलीले एक अर्कासँग खेल्नेछन् ।
सुपर सिक्सको दुई समूहको शीर्ष टोलीले भने सेमिफाइनलमा खेल्नेछन् । समूहमा पुछारका टोलीले पनि स्थान निर्धारणका लागि खेल्नेछन् ।